Rule 12
बण्डेड वेयरहाउसको सुविधाप्राप्त उद्योग वा व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू
(१) बण्डेड वेयरहाउसको सुविधाप्राप्त उद्योगले आफ्नो उत्पादन निकासी गर्दा प्रतीतपत्र वा प्रचलित बैङ्किङ कागजातको माध्यमबाट गर्नु पर्नेछ ।
(२) बण्डेड वेयरहाउसको सुविधाप्राप्त उद्योगले पैठारी गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियल समेत) बाट त्यस्तो मालवस्तु पैठारी भएको मितिले एघार महिनाभित्र तयारी मालवस्तु बनाई निकासी वा परित्र्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरिसक्नु पर्नेछ ।
(३) बण्डेड वेयरहाउसको सुविधा लिई नियम १० बमोजिम पैठारी भएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियल समेत) बाट तयारी मालवस्तु बनाई निकासी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यको न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको मूल्य अभिवृद्धिको प्रतिशत गणना गर्दा निकासी भएको मालवस्तुको एफ.ओ.बी. मूल्यबाट त्यस्तो मालवस्तु उत्पादन गर्न प्रयोग भएको नियम १० बमोजिम मालवस्तु पैठारी गर्दा भन्सारले कायम गरेको मूल्य घटाई हुन आउने अङ्कलाई त्यस्तो मालवस्तु उत्पादन गर्न प्रयोग भएको मालवस्तु पैठारी गर्दा भन्सारले कायम गरेको मूल्यले भाग गर्दा आउने अङ्कलाई १०० ले गुणा गरी निकालिनेछ ।
(५) बण्डेड वेयरहाउसको सुविधाप्राप्त व्यक्तिले करमुक्त पसलबाट बिक्री गर्नका लागि पैठारी गरेको मालवस्तु पैठारी गरेको मितिले एक वर्षभित्र करमुक्त पसलबाट बिक्री गरिसक्नु पर्नेछ ।
(६) नियम ११ को उपनियम (२) बमोजिम धागो पैठारी गर्ने कपडा उद्योगले आफूले पैठारी गरेको धागोबाट कपडा बनाई पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक उद्योगलाई बिक्री गरिसक्नु पर्नेछ ।